Friday, December 04, 2015

योगेश भट्टराईका अश्लील शब्द

अन्तर्विचार : अहिलेको सीमांकनलाई छोए देशैभरि आगो बल्छ
मेरो विचारमा हिजो पञ्चायत कालमा मधेसबाट आमहिसाबले सम्बन्धित ठाउँका जमिनदार, ठालुहरू नै जनप्रतिनिधित्वको नाममा आउँथे । चुनाव भनेको कसलाई जिताउने भन्ने हुन्थ्यो, त्यो जितेर आउँथे । त्यहाँका आम सर्वसाधारणको राजनीतिक पहुँच थिएन । त्यसमाथि मधेका महिला, दलितको प्रतिनिधित्व त शून्य थियो । ....... मधेसमा लामो समयदेखि माथिल्लो जात, वर्ग अझ भनौँ जमिनदारहरूले शासन गरिरहेको अवस्था थियो । पश्चिमी मधेसमा कमैया राख्ने, पूर्वतिर हली–गोठाला राख्ने गरिन्थ्यो । ..... मेरो बुझाइमा पछिल्ला मधेस आन्दोलनको उद्देश्य मधेसमाथि कुन वर्ग र जातिको वर्चस्वलाई कायम राख्ने भन्ने नै हो । मधेसका सर्वसाधारण, तल्लो वर्ग, कथित दलितले यो कुरा बुझेका छैनन् । र, मधेसी मोर्चाका नेताले मधेसी आमजनतामाथि एक प्रकारको सेन्टिमेन्टल ब्ल्याकमेल गरिरहेका छन् । ..... यो सीमांकनलगायत जति पनि माग भनिएका छन्, यी सबै देखाउने कुरा हुन् । भित्री कुरा तराई मधेसमा कुन जाति, कुन वर्गको वर्चस्व कायम गर्ने भन्ने नै हो । ...... भारत एउटा पुँजीवादी मुलुक हो, अर्को देशमा श्रमजीवी मानिसहरू सत्तामा आएको उसलाई त्यति खुसी लाग्दैन । किनभने, श्रमजीवीहरूसँग स्वाभिमान हुन्छ, देशभक्ति हुन्छ । यस्ता मानिससँग डिलिङ गरेर धेरै कुरा लिन सकिँदैन भन्ने भारतले बुझेको छ र मधेसमा उच्च जाति र वर्गका शक्तिलाई उचालिरहेको छ । ..... मधेसमा जुन आन्दोलन भइरहेको वा भड्किरहेको अवस्था छ, यो वस्तुगतभन्दा बढी भावनात्मक छ । वस्तुगत कुरामा वैज्ञानिकता हुन्छ । तर्क–वितर्क, खण्डन–मण्डन हुन्छ । तर, अहिलेको मधेस आन्दोलनका मागमा कुनै तर्क, तथ्य छैनन् । यो आन्दोलन वस्तुगत धरातलबाट भएको छैन । जे छन्, यी अधिकांश मनोवैज्ञानिक र भावनात्मक छन् । .....

आजको मधेस आन्दोलन मधेसी मोर्चाका नेताले आममधेसी जनतामाथि गरेको सेन्टिमेन्टल ब्ल्याकमेलिङ हो ।

..... समग्र नेपाललाई हेर्दा गरिबी बढी मधेसमा छ । जुत्ता–चप्पल लगाउन नसक्नेको, आफ्ना बालबालिकालाई स्कुल पठाउन नसक्नेको, भूमिहीन, गतिलो आवास नभएर राति राम्रोसँग निदाउन नसक्नेहरूको संख्या ठूलो छ । नजिकैको धारा, इनारबाट पानी लिन नपाउने दलित पनि मधेसमा छन् ..... आज मधेसका पिछडिएको समुदायले एमाले, माओवादीका नेतालाई आफ्नो नेता नठानिरहेको अवस्था छ । त्यसैले उनीहरू बाइमिस्टेक हाम्रो नेता त उपेन्द्र यादव पो हुन् कि, राजेन्द्र महतो हुन् कि, महन्थ ठाकुरलगायत पो हुन् कि भनिरहेका छन् । जो वर्षौंसम्म सत्तामा हालिमुहाली गरे, व्यक्तिगत हिसाबले सत्तालाई लुछ्नु लुछे, यो देशको भ्रष्ट नेताको सूची खोज्ने हो भने अधिकांश मधेसबाट प्रतिनिधित्व गर्ने, जो पटक–पटक मन्त्री भए, जसले कांग्रेस छोडे, उनीहरूकै नाम अघिल्लो पंक्तिमा आउला । .....

तराई मधेसमा भूमिसुधारको कार्यक्रम लागू गर्नै दिइँदैनथ्यो । उनीहरू कसरी मधेसीका प्रतिनिधि भए ? तराईमा छोरी बेच्ने ज्वाइँ किन्ने प्रथा छ । ज्वाइँ अलि पढे–लेखेको भेटियो भने अहिले पनि २०–३० लाख हालेर ज्वाइँ किनिन्छ र छोरी बेचिन्छ । यो छोरी बेच्ने प्रथा बेठीक हो भनेर यी मधेसकेन्द्रित दलका नेता कहिल्यै बोल्दैनन् । मधेसमा यति ठूलो छुवाछुत छ, पहाडमा पनि छ, धेरै घटिसक्यो तर यो छुवाछुत गलत हो भनेर उनीहरू बोल्दैनन् । मधेसका महिलालाई बोक्सीका नाममा मलमूत्र खुवाइन्छ, दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छ, त्यसका विरुद्ध उनीहरू बोल्दैनन् । त्यहाँका गरिबका छोरीछोरीको शिक्षाका लागि उनीहरू बोल्दैनन् । यिनीहरू कसरी मधेसका नेता भए ?

....... मधेसका ती आमजनतालाई हामीले सलाम गर्नुपर्छ, जसले सिमाना बसेर दैनिकजसो भारतीय सुरक्षाकर्मीहरूको उत्पीडन भोगेका छन्, उनीहरूको जग्गा–जमिन हडपिएको छ, घर–पसल तोडफोड भएको छ, कतिपयका छोरीचेली पनि बलात्कृत हुनुपरेको छ, उत्पीडन भोगेर पनि सिमानाको वर्षौं वर्षदेखि रक्षा गरिरहेका छन् । ...... नेपालका ६२ ठाउँमा भारतले सीमा मिचेको छ, ती सबै ठाउँमा तराई मधेसका सर्वसाधारण त्यसबाट प्रताडीत छन् । आज नेकपा एमालेको आँखाबाट हामीले हेर्दा तराई मधेस एउटा छैन । माथि आइसक्यो कि एउटा ठालुहरू, तथाकथित अभिजातहरू, ऐश–आराम गर्नेहरूको मधेस छ, अर्को साँझ–बिहान हातमुख जोर्न नसक्ने गरिब, दलित र उत्पीडितहरूको मधेस छ । .......

इनार छोएको नाममा, सिनो नउठाएको नाममा गाउँ निकाला गर्ने मधेस पनि छ

...... हिजो कर्मचारीतन्त्रमा बाहुन–क्षेत्री अथवा माथिल्लो जाति भन्नेहरूको जुन वर्चस्व थियो । त्यो वर्चस्व क्रमशः अब हट्दै जान्छ, हटिराखेको पनि छ ...... भारतीय सरकारलाई मेरो प्रश्न छ– भारतीय सेनामा नेपाली युवा भर्ती गर्दा भारतीय सरकार किन मधेसी युवालाई लैजाँदैन ? उसले पनि त पहाडका जनजाति, क्षेत्री–ठकुरी खोज्दै हिँडेको छ । नेपालका मधेसी जनताप्रति त्यति अगाध विश्वास थियो त, आफ्नो सेनामा पनि लैजानुपथ्र्यो । अब नेपालको सेना–प्रहरीमा कुनै पनि जातिको निम्ति बन्देज छैन, खुला छ । ..... हामी मधेसी आमदिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छौँ, तपाईंहरूलाई विभेद, दमन गर्ने केन्द्र होइन अहिलेको काठमाडौं । हिजो थियो, अब हुँदैन । किनभने, काठमाडौंको शक्ति संघीय प्रणालीमार्फत तपाईंहरूको घरआँगनमा पुगेको छ । अब काठमाडौंसँग मिलेर प्रगति गर्ने हो । मधेसी नेताहरू भन्न लगाउँछन्— गर्व से कहो हम मधेसी छि । तर, हामी भन्न लगाउँछौँ— गर्व से कहो हम नेपाली छि, त्यसपछि मधेसी छि । ...... आजको राज्यले शोषण, दमन, विभेद गर्दैन । कानुनका दृष्टिले विभेद गर्दैन । आजको राज्यले मानवअधिकार, प्रेस स्वतन्त्रतालाई रक्षा गर्छ । आजको यस्तो लोकतान्त्रिक राज्यविरुद्ध जब लडिन्छ, त्यसलाई समर्थन गर्नु एउटा लोकतान्त्रिक राज्यको नैतिकता होइन । त्यसो हो भने त आईएसआईएसको गतिविधिलाई किन समर्थन नगर्ने त ? धार्मिक स्वतन्त्रता भएन, दमन भयो, आईएसआईएसका पनि अनेक तर्क छन् । उसले आक्रमण गर्छ, हत्या गर्छ, बन्धक बनाउँछ, समर्थन गर्ने ? त्यसकारण यहाँ छुट्याउनुपर्छ । ......

मधेसी मोर्चाको अहिलेको मागको वस्तुगत आधार नै छैन, यो खालि साइकोलजिकल ब्ल्याकमेलिङ हो । मान्नुस् कि यी माग साइकोलजिकल ब्ल्याकमेलिङ होइनन्, साँच्चै माग हुन् । यी मागमध्ये के चाहिँ संविधानमा छैन त ? आजको संविधानका धारामा मधेसलाई हेपिएको, ठगिएको, पहाडको तुलनामा मधेसलाई विरोध गरेको के के धारा छन् त ? यदि त्यस्तो विभेद गरेका धारा छन् भने हामी सच्याउन तयार छौँ । तर, मलाई विश्वास छ, कुनै पनि धाराले विभेद गरेको छैन ।

........ हामीले नागरिकतामा एकदमै खुला नीति लियौँ, मलाई त के डर छ भने यसले १५–२० वर्षपछि मधेसमा कहीँ नेपाली मधेसीभन्दा गैरनेपाली मधेसीको बाहुल्य नहोस् । अझ मैले बुझेको यो हो, भोलि १५–२० वर्षपछि नेपालको मधेस नेपालमा बस्ने कि स्वतन्त्र हुने ? जनमत संग्रहका लागि आज तयारी भइरहेको छ । हिजो श्रीलंकामा त्यही गरियो, तमिल क्षेत्र स्वतन्त्र हुने कि श्रीलंकामा बस्ने भनेर कति वर्ष लडाइयो । ६० हजारभन्दा बढी मानिस मरे, त्यो औचित्यहीन आन्दोलन थियो । ..... मधेसी मोर्चाले उठाएका मागका सम्बन्धमा उहाँहरू र हामीबीच नमिलेको कुरा सीमांकन मात्रै हो । अरु उहाँहरूले मधेसमा तथाकथित लोकप्रियता हासिल गर्न उठाएका कुरा हुन् । जस्तो, उहाँहरू भन्नुहुन्छ, नेपालमा एउटा राष्ट्रियता हुनुहुँदैन, बहुराष्ट्रियता हुनुपर्छ । उहाँहरूको ११ बुँदे मागको अन्तिम बुँदामा बहुराष्ट्रियता हुनुपर्छ भनिएको छ । यो मधेसमा लोकप्रिय हुन र भारतलाई भक्ति देखाउन भनिएको हो । ......

कसरी हुन्छ नेपालमा बहुराष्ट्रियता ? नेपाल कतिवटा देश मिलेर बनेको देश हो र ?

...... सामाजिक हिसाबले भारत हामीभन्दा बढी विविधतायुक्त देश छ । हामीसँग एक सय २५ जाति छन्, त्यहाँ पाँच सय छन् । ....... अर्को माग छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने । म उहाँहरूलाई प्रश्न गर्छु, तपाईंहरू मनाङ, मुस्ताङ, कर्णाली अथवा नेपालका पहाडी जिल्ला जहाँ जनसंख्या कम छ, त्यहाँ प्रतिनिधित्व समाप्त गर्न खोज्दै हुनुहुन्छ ? यसो हो भने, तपाईंहरूसँग कुरा मिल्दैन । उहाँहरूले भनेअनुसार निर्वाचन क्षेत्र बनाउने हो भने कर्णालीमा एक वा दुई निर्वाचन क्षेत्र हुन्छ । कर्णालीमा दुई क्षेत्र भए पनि त्यहाँको सांसदले आफ्नो निर्वाचन क्षेत्र घुम्न एक वर्ष लाग्छ । ......

मधेसमा साइकलमा एक घन्टामा घुमिसक्ने निर्वाचन क्षेत्र बनाउने, पहाडमा एक वर्ष लगाएर घुम्नुपर्ने निर्वाचन क्षेत्र बनाउने ?

....... हामीले भनेका छौँ, एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये यदि सहमतिमा आउने हो भने ७५ वटा जिल्लालाई एक–एक जिल्ला मानेर बाँकी निर्वाचन क्षेत्र जनसंख्याको आधारमा बनाउँ । यो भनेकै छौँ, यसमा नमिल्नुपर्ने कुरा के छ ! ....... एमाले र कांग्रेस पहिलेदेखि यो स्पष्ट भन्दै आएका हुन्— नेपालको भौगोलिक विविधताका हिसाबले हिमाल, पहाड, तराई मिलाएर प्रदेश बनाउनुपर्छ । ..... लोकतन्त्रमा फरक सैद्धान्तिक मत राख्न पाइन्छ । तर, यसको निष्कर्षको पनि विधि हुन्छ, लोकतन्त्रमा । विधि के भने कि त आमसहमतिबाट मध्यबिन्दुमा जानुपर्यो, कि त जनमत संग्रहमा जानुपर्यो । ...... मध्यबिन्दुमा जाने कोसिस त सीमांकन बनाउँदै भएको छ । जो कि दुई नम्बर प्रदेश तराईका आठ जिल्लाको छ । एक प्रदेश एक मधेसकै माग उठेकाले यसरी सम्बोधन गरिएको हो । ...... एमालेको तर्फबाटै म भन्छु– झापा, मोरङ, सुनसरी कुनै पनि हालतमा दुई नम्बर प्रदेशमा जाँदैन र जान दिँदैनौँ, त्यहाँका जनताको भावना नै यही छ ....... त्यहाँ जनमत संग्रह गरौँ । कैलाली, कञ्चनपुरमा जनमत संग्रह गरौँ । आवश्यक पर्यो भने देशभरि नै जनमत संग्रह गरौँ । प्रदेशहरू हिमाल, पहाड, मधेस मिसाएर बनाउने कि मधेसमा अगल र पहाडमा अलग बनाउने भनी दुई क्लजमा जनमत संग्रह गरौँ । आखिर लोकतन्त्रमा निर्णय गर्ने विधि त यही हो । बल र हिंसाले निर्णय हुँदैन ।




  • नाकाबंदी मा मधेस आंदोलन जानु जरुरी थिएन। नाकाबंदी नै मुख्य समस्या हो, अरु केही समस्या छैन भन्ने हरुले कति चाडो बिर्सिन खोजेका? मधेसीको शांतिपूर्ण आंदोलन गर्ने अधिकार पुर्ण रुपले कुंठित गरियो। फ़ासिस्ट शैलीमा टाउको, छाती, पिठ्युँ ताकि ताकि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन का विपरीत र आफ्नै देशको सर्वोच्च अदालतको आदेश विपरीत। प्रत्येक मधेसीको घर लाई नै जेल बनाइयो अनिश्चितकालीन कर्फ्यू जारी गरेर। 
  • नेपाल दुई राष्ट्र हो। एउटा राष्ट्र ले दिवाली मनायो, अर्को राष्ट्र मलामी गयो। योगेश भट्टराई जस्ता का मिलनविंदु का संभावना समाप्त पार्ने हरु नेपाल लाई औपचारिक रुपले नै दुई राष्ट्र बनाउन उद्दत देखिन्छन्। 
  • मधेसको कुना कुनामा सशस्त्र पहाड़ी खड़ा गर्नुको अर्थ के? संविधान जारी गर्नु हप्तों अगाडि सशस्त्रलाई शुट एट साइट आर्डर जारी गर्नु को अर्थ के? आईसस को हो यो अवस्थामा? 
  • नेपालमा जग्गा आफ्नो नाम मा हुन नागरिकता चाहिन्छ। अर्थात मधेसका भूमिहीन जति सबै नागरिकता विहीन छन। अर्थात नागरिकता विहीन नै भूमिहीन छन। योगेश भट्टराई जमीन्दार होइन र गरीब को पक्षमा बोल्ने मान्छे हो भने नेपालको नागरिकता समस्या, ५० लाख मधेसी लाई नागरिकता पत्र विहीन राखिएको अवस्था बारे मधेसी जमीन्दार किन बोलेको? किन लडेको? अझ योगेश भट्टराई का विरुद्ध किन लड्नुपरेको? हुनुपर्ने उल्टो होइन?
  • मधेसमा वर्गीय विभेद छ, लैंगिक विभेद छ, जातीय विभेद छ। त्यो विभेद पहाड़मा पनि छ, भारतमा पनि छ। विश्व भरि छ। अमेरिका मा छ। तर त्यो सबै खाले विभेद पहाड़मा छैन अलि अलि मात्र छ तर मधेसमा कहालीलाग्ने गरी छ भनेर योगेश भट्टराई ले के भन्न खोजेका? आफ्नो मधेस प्रतिको जातीय घृणा ले पहाड़मा रहेको चरम वर्गीय विभेद, लैंगिक विभेद, जातीय विभेद लाई ढाकछोप गर्न खोजेका? 
  • उपनिवेशी बनाइएको समुदाय भित्र आतंरिक विभाजन अझ बढ़ी हुन्छ। त्यो एउटा वैज्ञानिक तथ्य हो। यदि मधेसमा तुलनात्मक रुपले पहाड़मा भन्दा बढ़ी वर्गीय विभेद, लैंगिक विभेद, जातीय विभेद छ भने त्यसको कारण नै योगेश भट्टराई पथ हो। मधेस लाई उपनिवेश बनाएर राखिएकोले हो त्यो भएको। समस्याका नाम ही योगेश भट्टराई है। 
  • पहाड़ी सुरक्षाकर्मी ले मधेसमा गर्ने गरेका ज्यादती को आरोप सीमा पारि का लाई दिने काम गरेका छन योगेश भट्टराई ले। ठाडो अश्लील भाषामा। You can't protect your women भन्ने चरम रेसिस्ट भाषा को प्रयोग गरिएको छ। 
  • काँध योगेश भट्टराई को हुन सक्छ। बन्दुक चलाउने मान्छे त त्यो हो जो गद्दीमा बसेको छ। जो झिंगा र आँप को भाषा बोल्छ। 
  • मेरो चुनौती छ योगेश भट्टराई लाई। यस अवैध संविधानमा एउटा धारा मलाई देखाई दिनोस जहाँ मधेसी लाई बिभेद गरिएको छैन। 
  • यो देश टुटने भाषा मलाई अपाच्य छ। यो भुमि तिम्रो बाउको बिर्ता हो र हामी ले लगे जस्तो गर्नु पर्ने? सर्बभौमसत्ता जनता मा हुनु भनेको के? त्यो पहिला ट्यूशन पढेर आउ। अनि कुरा गरौंला। 





No comments: