Saturday, August 22, 2015

देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो


देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो - अरुण बराल

पञ्चायतले कोरेको सीमानामा एक इञ्च पनि तलमाथि नगरियोस् भन्ने यो सोचाइ राज्य पुनसंरचनाको वैज्ञानिक मान्यतामा आधारित छैन ।

अहिले सुदुरपश्चिमको कैलाली कञ्चनपुरका जिल्लाहरुमा आन्दोलनको आगो सल्किएको छ । यसरी आगो बल्नुमा सुदुरपश्चिमका नेता भनिएका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको अदुरदर्शिता एवं पञ्चायतकालीन मानसिकताले काम गरेको छ ।

कैलाली र कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा राख्नुपर्छ, नभए पार्टी छाडिन्छ भन्ने लेखराज भट्टको सोचाइले महेन्द्रकालीन सीमांकनलाई पक्षपोषण गर्छ ।

राज्यको नयाँ ढंगले सीमांकन गर्दा कैलालीको थारु बाहुल्य पूर्वी प्रदेशलाई बर्दियातर्फ मिलाउँदा त्यहाँ पहिरो जाँदैनथ्यो । कैलालीका ४ लाख थारुहरुको त्यो मागलाई सम्बोधन गर्नै नेताहरुले नसक्दा आज त्यहाँ आगो बलेको छ ।

कैलालीका जनताले आफू कुन प्रशासनिक इकाइमा बस्न चाहन्छन्, त्यो नदिएर देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो । पञ्चायतकालीन जिल्लाको सीमानालाई फेरबदल गर्न नदिने यस्तो सोचाइले अहिलेको मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन र द्वन्द्वको समाधानसमेत गर्दैन ।

पञ्चायतकालीन संरचनालाई यथावत राख्ने हो भने संघीयता र राज्य पुनसंरचना किन चाहियो ? यसको जवाफ अखण्ड पक्षधर नेताहरुले दिन सकेका छैनन् ।

शेरबहादुर देउवा कैलालीका मान्छे होइनन्, उनको गृहजिल्ला डडेलधुरा हो । उनले कैलालीका ४ लाख थारुलाई कँजाउन खोज्दा यतिबेला कैलालीका जनता सुदुरपश्चिममा बस्दैनौं, हामीलाई स्वायत्तता चाहिन्छ भनिरहेका छन् । देउवासँग यसको जवाफ के छ ? उनले यसको जवाफ दिएनन् भने पश्चिमको आयोग सल्काउने काममा देउवाको भूमिका स्पष्ट हुन्छ ।

भनिन्छ, नेता लहडी भयो भने, सिंगो मुलुक र त्यस देशका जनताले त्यसको शिकार हुनुपर्छ । विश्वका कैंयौं मुलुकमा खराब सोचाइका नेताका कारण जनताले दुख पाउने गरेका छन् ।

सुदुरपश्चिम र मध्यपश्चिममा सल्केको आन्दोलनको आगोमा पञ्चायती मानसिकता बोकेका केही नेताहरुको ढीपी जवाफदेही बनेको छ । आन्दोलनकै क्रममा सोमबार सुर्खेतमा गोली लागेर एकजनाको निधन भइसकेको छ । सिंगै सुदुरपश्चिमका जनताले बन्द र हडतालका कारण दुख पाइरहेका छन् ।

देउवा, रावल र भट्टज्यू, आफ्नो क्षेत्रका जनताको माग र भावनालाई व्यवस्थापन गर्न सक्नुभएन भने काठमाडौंमा बसेर तपाईहरुको राजनीति कतिञ्जेल चल्ला ?

स्मरणीय छ, जुन प्रदेशका जनता आपसमा सन्तुष्ट र खुशी हुन्छन्, त्यही प्रदेशले चाँडो विकास र सम्वृद्धि हासिल गर्नेछ । जुन प्रदेशका जनता दुखी हुन्छन्, त्यहाँका नेताले आगामी दिनमा हात धोएर राजनीतिबाट सन्यास लिए हुन्छ ।

नेपाली कांग्रेसको भावी सभापति हुन लागेका देउवाले सुदुर पश्चिमको आगो निभेन भने राजनीतिबाटै कमण्डलु बोक्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नो घरबारीमा आगो सल्काएर निरोबाहेक अरु कोही पनि चैनले सुत्न सक्दैन ।

No comments: