Saturday, September 12, 2015

In The News (59)

मधेसी मोर्चाले भन्यो-तीन दलको निर्णय ठीक छ, अब कर्फ्यू फिर्ता होस्



बालुवाटारमा प्रधानमन्त्री नरम भएपछि ओली र देउवा गले
जनकपुर र जलेश्वरले वार्ताको वातावरण बिथोल्ने डर
शुक्रबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा लगातार ६ घण्टासम्म बसेको प्रमुख तीन दलको बैठकले मधेसी मोर्चा र थारु समुदायका नेताहरुसँग वार्ता र सहमति खोज्न संविधानसभाको प्रक्रिया दुई दिन स्थगन गर्ने सहमति गरेको छ । यति सहमति गर्न तीन दलका नेताहरुलाई

किन ६ घण्टाको समय लाग्यो होला ?

..... निकै लामो छलफलमा क्रममा प्रमुख दलका नेताहरुले मधेसी मोर्चा र थारु नेताहरुसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा भन्नेमा धेरै समय खर्च गरेका थिए । ...... वार्ताका लागि प्रधानमन्त्रीले पटक-पटक पत्र लेख्दा पनि आन्दोलनकारीहरु वार्तामा नआएको भन्दै उनीहरुलाई पर्खेर निकास ननिस्कने एमाले नेता केपी ओली, माधवकुमार नेपाल लगायतले विचार राखेका थिए । ......

शेरबहादुर देउवाले पनि वार्ता भनेपछि थारुहरुले उहमी कैलाली माग्न थाल्ने र सहमति नहुने भन्दै प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

..... आन्दोलनकारीका तर्फबाट पनि सुरक्षाकर्मीमाथि भौतिक हमला गर्ने र हत्या गर्नेसम्मको घटना गरिरहने हो भने सरकारले सेनापरिचालन फिर्ता गर्न अप्ठ्यारो पर्न सक्छ । .....

यसअघि प्रधानमन्त्री कोइरालाले वार्ताका लागि पत्र पठाउनासाथ प्रहरीले वीरगञ्ज र कलैयामा प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।



थारु र मधेसीबारे सोचौं !
तीन दलले प्रस्तुत गरेको ७५ बुँदे संशोधनले थारु, मुस्लिम, मधेशी र आदीबासी जनजातिका संवैधानिक आयोग बनाउने जस्ता महत्वपूर्ण सहमति गरेर सकारात्मक सन्देश प्रवाह गरे पनि दलितका प्रतिनिधित्वको सुनिश्चितताको माग, नागरिकतामा रहेका विभेद र सिमाङ्कनका बिचलनलाई सच्याउन सकेको छैन । ...... हामीले २००७ देखि २०१५ सम्मका घटनाहरु सम्झन जरुरी छ । कतिपय शक्तिहरु अहिले पनि तिनै प्रवृतिहरुको पुनरावृत्ति गरेर संविधानसभा विफल होस् भनेर कोसिस गरिरहेका छन् । कतिपयले नेपाललाई अराजकता र अस्थिरताको दलदलमा जाकेर वर्तमान राजनीतिक नेतृत्वलाई असफल पारेर राष्ट्र विखण्डनसम्म गर्ने सपना देखिरहेका छन् । मुलुकलाई पछाडि फर्काउने या राष्ट्रको अस्तित्वलाई चुनौति दिने ती सबैखालका हर्कतलाई विफल पार्न संविधान निर्माण जरुरी छ । त्यसैले हामी संयुक्त संशोधन गरेर यहाँ उपस्थित भएका छौं । आफ्नो मुद्धा मर्न नदिन संशोधन राख्ने माननीय ज्यूहरुले परिस्थितिको यो गाम्भीर्यतालाई बुझिदिनुहनेछ भन्ने विश्वास लिएका छौ । ...... अहिले पनि सनातनदेखि चल्दै आएको माथिल्लो वर्ग र जातको विशेष अधिकार कायम राख्न चाहनेहरु र बाँकी ठूलो बहुमतका सर्वसाधारण जनता (जसमा आदिवासी जनजाति, मधेसीहरु, दलित, मुश्लिम, श्रमजीवी महिलाहरु, पहाडी भेगका लाखौं बाहुन क्षेत्री, साना किसानहरु, मजदुरहरु पर्दछन्) बीचमा कुनै न कुनै प्रकारले संघर्ष चलिरहेको छ । यो सभामा पनि त्यसको प्रतिबिम्ब देखिएको छ । .....

समाजिक न्यायका धारामा समानुपातिक समावेशीतालाई समेत सम्पूर्ण रुपमा अंगीकार गर्न नसकेको संयुक्त संशोधनसहितको परिमार्जित मस्यौदालाई पारित गरेर हामीले कस्तो संघर्ष निम्त्याउँदैछौं ? त्यस्तो संघर्ष देशका निम्ति सकारात्मक हुन्छ कि नकारात्मक ? समय रहँदै सोचौं ।

.......

कवि गोपालप्रसाद रिमालले भनेको जस्तो उथल पुथल एक जुगमा एकपटक मात्र आउने कुरा होइन रहेछ

...... भदौ १३ गते मैले यही सदनमा के भनेको थिएँ भने ‘थारु समुदायका जायज मागलाई सम्बोधन गरिएन भने, यो संविधान नै हिंसात्मक आन्दोलनको बिज हुन सक्दछ । थारुहरुलाई प्रदेश दिउ“m, ७ प्रदेशलाई ८ बनाऊँ । कैलाली कञ्चनपुरसहितको थारुहरुको सघन बसोबासको क्षेत्र नफुटाउँ । सेना परिचालन गरेर, समस्या समाधान हुँदैन । अहिले नै उपाय खोजौं । मगरातलाई तीनतिर विभाजित नगरौं । तमु र मगरहरुको संयुक्त प्रदेश नै सरल उपाय हो । यसो गर्दा बाग्लुंग र रुकुममा उठेको आन्दोलन पनि संबोधन हुन्छ । यी विचार १६ बुँदेसँग पनि मेल खान्छन् । यसमा कसैको हार हुँदैन । ५ अरब ७२ करोड लगाएर बनाएको हाम्रो संविधानमा थारु र मगर समुदायले अपनत्व महसुस नगर्ने भएपछि यसको व्यापक स्वीकारोक्ति कसरी हुन्छ ?’ ...... प्रहरी र आन्दोलनकारीको मृत्युको संख्या तीन दर्जन नाघिसक्यो । दमनले समस्याको समाधान गर्दैन । सेना परिचालन गरेर समस्याको समाधान हुँदैन ।

मधेसीहरु र थारुहरुको सहभागिता बिनाको यो संविधान जारी गर्दा संघर्षको मैदान अझै फराकिलो भएर जाँदैन ?

हामी गम्भीर हुनै पर्छ । ....... तीन दलभित्र पनि मधेसी र थारुहरु नभएका होइनन् । तर उनीहरुको मनभित्र पनि आँधीबेहेरी उठिरहेको छ । ..... म तत्काल दुईवटा उपाय देख्दछु, १) अहिले दर्ता भएका संशोधनभित्रैबाट स्वीकार्य हुने बाटो र २) संविधानसभा छाडेर बाहिर गएकालाई बार्ताबाट फर्काउने बाटो । गएको वर्ष हामी पनि संविधानसभा बाहिर गएका थियौं । प्रश्नावली समिति बनेर प्रक्रिया अघि बढेको थियो, त्यो रोकियो । अध्यक्षको विशेष पहलमा माघ २९ पछि हामी यहाँ फर्केका थियौं । ....... अहिले पनि यहाँ ५ सय १५ जना सभासदहरु छौं र कुल सभाको यो ८६.१२ प्रतिशत हुन्छ ।


जनताको छातीमा गोली ठोकेर लेखिने संविधानको कुनै मान्यता रहँदैन- किशोर नेपाल
भुईंचालोपछि देशमा सन्नाटा छाएको थियो। अहिले देशको आकाशमा जनताका क्रन्दन र कोलाहल व्याप्त छ। त्यतिखेर प्रकृतिको मारमा परेर जनता मरेका थिए, अहिले सरकारको गोली लागेर ढल्दैछन्। प्रत्येक दिन। मधेसका नेपाली पुस्ता–दर–पुस्ता जीवन बिताउँदै आएको भूमिमा सहज ढंगले बाँच्न अलिकति अधिकार माग्दैछन् झण्डै महिना दिनदेखि। मधेसमा आन्दोलन प्रखर र मुखर छ। त्यसको प्रकम्पनले पहाड पनि थर्किँदैछ। मधेसमा चलेको गोली पहाडमा चल्दैन भन्नु तिमीलाई खाने चितुवाले मलाई खाँदैन भन्नु जस्तै हो। जुन मस्यौदा संविधानमाथि अहिले संविधानसभामा “छलफल” भइरहेको छ त्यो मधेसी नेपालीको मात्रै होइन, पहाडीया नेपालीको हितमा पनि छैन। मधेसलाई निषेध गर्ने प्रावधानले पहाडलाई पनि निषेध गर्दछ। मधेसका जनताको छातीमा गोली ठोकेर मार्ने सरकार चलाउने दलका नेता केपी ओली लटरम्म फलेको बोटबाट दुईचार आँप झरेको निर्मम अभिव्यक्ति दिँदैछन्। अहिले आँप झरेको छ। भोलि लटरम्म फलेको सुन्तलाको बोटबाट दुईचार सुन्तला झर्नेछन्। यस्ता निर्मम अभिव्यक्ति दिने नेताको तस्वीर भोलिका प्रधानमन्त्रीका रुपमा संचारमाध्यम र सामाजिक संजालहरुमा टाँसिन थालेको छ। ......... कोसीदेखि कर्णालीसम्मका पूरै भूभाग उद्वेलनको चरम विन्दूमा पुग्दा पनि सरकार चलाउने र सरकार चलाउने दलहरुलाई संविधान बनाउन सघाउने दलका नेताहरु मौन छन्। रोम सहर जलिरहँदा बाँसुरीको धूनमा रमाउने सम्राट नीरोकै शैलीमा ठूला दलका ठालु नेताहरु संविधानसभामा जेनतेन प्रक्रियालाई घचेट्दैछन्। हिजोका दिनमा एकीकृत माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईको जालबाट पहिलो संविधानसभा जोगाउन माखो नमार्ने सभाध्यक्ष सुवास नेम्वाङ अहिले कुनै हालतमा पनि प्रक्रिया रोक्न तयार छैनन्। किनभने, यसपटक बाबुराम र ओलीबीच भावी सरकार निर्माणका लागि भाइचारा सम्बन्ध गाँसिएको छ। दुई धूर्त नेताहरु वामपन्थका नाममा एकै ठाउँमा उभिएका छन्।

बाबुरामको तीखो दृष्टि भुईंचालो पीडित देशको पुननिर्माणका लागि दाताहरुद्वारा दान कबुल गरिएको अमेरिकी डलर ४.१ बिलियनबाट हटेको छैन।

............ हो, सरकार छ। पहिलो ठूलो दलको नेतृत्वमा दोस्रो ठूलो दल समावेश भएको चट्टानको ढुंगो जत्तिकै बलियो सरकार छ। सरकारका नेता सुशील कोइराला ढुंगो जत्तिकै स्थिर छन्। उनी आफैँले गठन गरेको पुनर्निर्माण आयोग सम्वन्धी अध्यादेश समेत बिर्सिन्छन्। कांग्रेस पार्टीका सभापति छन्। तर, नियमित महाधिवेशन गराउने हैसियत राख्दैनन्। बरु, अन्तरिम संविधान संशोधनद्वारा कांग्रेस पार्टीको वैधानिकता जोगाउन चाहन्छन्। अहिंसाको कुरा गर्छन्।

अनशनकारीलाई जुठो जूस पिलाउँछन् र झुठो आश्वासन दिन्छन्।

सरकारको नेताका रुपमा सुस्त छन्, आफनो र आफन्तको स्वार्थमा चुस्त। वर्षौ किचेन क्याविनेटको नेतृत्व गरेर पनि उनले केही सिकेका रहेनछन्। उनको अनुहार नभएको होइन। तर, आन्दोलनकारीसँग वार्ता गर्ने नैतिक साहस छैन। ....... जनतासँग खासै सरोकार राख्दैनन्। आन्दोलनका क्रममा मारिएका जनताको आँगनमा गएर सहानूभूति प्रकट गर्ने र संवेदनाको दुई शब्द उच्चारण गर्नका लागि उनीसँग वाणी नै छैन। उनी कालो सिसा लगाइएको गाडीमा अनुहार लुकाएर हिँड्छन। अनुहार नै लुकाएर हिँडेपछि कसको के लाग्छ ? ......... तीन ठूला दलका माननीय सदस्यबाहेक धेरै सदस्यहरु प्रक्रियाबाट बाहिर छन्। तीन दलका पनि प्रभावशाली सदस्यहरु प्रक्रिया बाहिर रहने संकेत आइसकेको छ। पहाड र मधेसका पीडित–प्रताडितहरु प्रक्रिया बाहिर छन्। विश्लेषकको आँखाले हेर्दा

अहिलेसम्मका हुनेखाने र यसपछिका हुनेखाने बाहेकका बाँकी नेपाली जनता प्रक्रिया बाहिर छन्।

यी तिनै जनता हुन जो कहिल्यै प्रक्रियाभित्र परेनन् र पारिएनन्। ....... अहिले कसैले पनि भावनाको वशमा आएर स्वतन्त्र मधेस गणतन्त्र भन्ने अवस्था आएको छैन। ..... अहिले प्रक्रियाको नेतृत्व गर्दै रहेका नेताहरुमा साँच्चै देशप्रेमको भावना छ भने संविधान निर्माणको कथित प्रक्रिया तत्काल रोकेर आन्दोलनकारीसँग वार्ता गर्नु पर्दछ। .....

सेना लगायतका सुरक्षा संस्थाहरु सजिलै पराजित हुन्छन। तर, जनता कहिल्यै पराजित हुँदैन।

थारु युवकको भनाइले मेरो आँशु आयो
हिजो एक थारू युवाले भने, “म बच्चैदेखि फुटबल खेलमा भुतुक्कै हुने मान्छे; नेपाल र अरू देशबीच खेल हुँदाको खेल सकेसम्म छोडेको छैन र नेपालको पक्षमा पागलजस्तै हुटिङमा उफ्रिन्थें ।

यसपटक जब नेपालले च्याम्पिएन बन्ने गोल गर्दा पनि मेरो शरीरमा कुनै उमङ्ग नै पैदा भएन !”

.... यो वाक्य यति भयानक लाग्यो मलाई कि राती सम्झिंदा पनि आँसु आयो । ........ थारू र मधेसीको हृदयमा टुट्दै गएको राष्ट्रप्रतिको अनुरागको तार जोड्न प्रयत्न गर्नैपर्छ, दमनको मुर्खतापूर्ण बाटो त्याग्नैपर्छ ।


ओलीको बोलीले मधेशमा एमाले सभासद् तथा नेता असुरक्षित
नेकपा एमालेका सप्तरीका एक स्थानीय कार्यकर्ताले भने, ओली र झलनाथको बोलीले अहिले घर बाहिर निस्कन ग्राहो भै सक्यो । यस्तै पारा हो भन्ने एमालेमा बसी रहन सकिँदैन, मधेशमा बस्ने हो भन्ने अब एमाले त्याग्नुको विकल्प छैन । एमाले विस्तारै मधेशमा सकिने दिशा तर्फ जाँदैछ । घर परिवारको मान्छे पनि असुरक्षित महसुस गरि रहेका छन् ।
वार्ताको हावा चल्ने वित्तिकै उपेन्द्र यादव काठमाडौं प्रस्थान, भोलि वार्ता हुन सक्ने सम्भावना
प्रमुख तिन दलले वार्ताका लागि संविधानको प्रकृया आइतवार सम्मको लागि स्थगन गरे पछि उपेन्द्र यादव आन्दोलनको सम्पुर्ण कार्यक्रमलाई थाती राख्ने काठमाडौं हानिएका छन् । श्रोतका अनुसार शुक्रवार तौलिहवामा आयोजित विरोध कार्यक्रममा भाग लिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सँग वार्ता सार्ता नगर्ने बताएका थिए । तर, जब जब मधेशमा आन्दोलन चरम उत्कर्षमा पुग्छ त्यति त्यति बेला उपेन्द्र यादव अन्य मोर्चाका नेतालाई छोडेर एक्लै किन काठमाडौं सुुटुक्क दौडिन्छ स्यमं मोर्चाका अन्य नेतालाई समेत थाहा हुँदैन । ..... एक श्रोतका अनुसार विभिन्न शक्ती केन्द्रले मोर्चाका नेताहरुलाई वार्तामा बस्न दवाव दिई रहेका छन् । ...... श्रोतका अनुसार भोलि संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा, गच्छदारको मोर्चा र अनिल झाको संयुक्त मोर्चा र तिन शिर्ष दल बीच वार्ता हुन सक्ने सम्भावना रहेको छ । तर मोर्चाका नेताहरुले वार्ता बाट मधेशी र थारुहरुको माग पुरा नहुने भन्दै आन्दोलनको विकल्प नरहेको बताउँदै आएका छन् ।


अन्यथा देश विखण्डन हुँदै जानेछ
म ठूलो राजनीतिक मान्छे होइन । ३० वर्ष वकालत गरेँ । वरिष्ठ अधिवक्ता थिएँ । महिनाको लाखौँ आम्दानी थियो । ०६४ मा संविधानसभामा गएँ । ..... ठूला पार्टी भनिरहेका छन्, ‘तपाईंहरूसँग जनमत कहाँ छ, त्यो त हामीसँग छ ।’ तर, यहाँ मधेसमा आएर हेरून् अहिले लडिरहेका को छन् ? कांग्रेस, एमाले र माओवादीलाई भोट दिने नै आन्दोलनमा आएका छन्, लडिरहेका छन् । अब उनीहरूलाई गएको भोट फिर्ता भइसक्यो । जनताले आफ्नो भोट फिर्ता लिन पाउने व्यवस्था भएको भए फिर्ता लिइसक्थे । व्यावहारिक रूपमा जनता हामीसँग फर्किसकेका छन् । प्राविधिक रूपमा मात्रै ठूला पार्टीसँग छन् । ......

०६३ मा उपेन्द्रजीलगायत केही साथीले काठमाडांैमा अन्तरिम संविधान जलाएका थिए । यसपटक गाउँगाउँमा, गल्लीगल्लीमा जल्छ ।

..... हामीले प्रस्ट भन्दै आएका छौँ, राज्य पुनर्संरचना गर्दा मधेसमा दुइटा प्रदेश हुनुपर्छ । नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा र चितवनको दक्षिण भागदेखि झापासम्म अर्को । मधेसीलाई दुई नम्बरको नागरिक बनाइएको छ । ०४७ देखि नागरिकताका लागि लडिरहेका छौँ, समाधान भएको छैन । नागरिकताबारे कम्तीमा अन्तरिम संविधानमा स्वीकार गरिएको त मान्नुपर्छ । राज्य सबै जनताको, सबै समुदायको हो भने राज्यको सम्पूर्ण निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनुपर्छ । संघीय प्रदेशमा कार्यपालिका, व्यवस्थापिका मात्रै होइन, न्यायपालिका पनि संघीय संरचनामा जानुपर्छ भन्ने हो । भाषाका कुरा पनि छन् । यी सबै मधेस आन्दोलनको पहिल्यै क्रममा भएको सम्झौतामा छन् । त्यो सम्झौता कार्यान्वयन नै मुख्य माग हो । ....... मधेसका जिल्लालाई समावेश गरेर २ नं. प्रदेश बनेकै छ नि भनिन्छ । तर, पर्सादेखि सप्तरीसम्मको जो प्रदेश बनाइएको छ, त्यो कुन सिद्धान्तमा छ ? के सुनसरी, झापा, मोरङ मधेस होइन । नवलपरासीदेखि कञ्चनपुरसम्म मधेस होइन ? सबै मधेस हुन् भने आठ जिल्लालाई मात्रै किन मधेस प्रदेशमा राख्ने ? राज्यले मानेको मधेसलाई नै हामीले मधेस मानेका छौँ । मेरो जन्म हुँदा बुबाले मलाई मधेसी भनेको होइन, राज्यले भनेको हो । इतिहासको कुरा नगरौँ,

होलीको कुरा गर्दा पनि दुई दिन बिदा हुन्छ, एक दिन पहाडीका लागि एक दिन मधेसीका लागि । जहाँ–जहाँ होलीका लागि मधेस भनेर बिदा दिइन्छ, त्यसैलाई त हामी मधेस स्वायत्त प्रदेश भनिरहेका छौँ ।

.......... झापाका राजवंशी, गन्गाई, ताजपुरिया, मेचे, कोचे, सतारहरू सबैले हामीलाई मधेसमा राख्नुस् भनेका छन् । विराटनगरमा, सुनसरीमा मधेसमा हुनुपर्छ भनेर आन्दोलन छ । ती जिल्लावासीले उत्तर दक्षिण नै ठीक छ भनेको भए किन आन्दोलन हुन्थ्यो ? ...... मधेसमा १७ प्रतिशत पहाडी छन् । हामी पहाडी र मधेसी मिलेर बसेका छौँ । हामीले भनेको त हामी पहाडियासँगै मिलेर बस्छौँ भनेको हो नि । १७ प्रतिशत पहाडिया र अरू मधेसीलाई सँगै पो बस्न दिनुपर्ने हो, किन अलग गर्न खोजिरहेका छन् ? मधेसी र पहाडीबीच कलह फैलाउने काम त राज्यबाटै भइरहेको छ । हामीले यो पनि प्रस्ट भनेका छौँ, मधेस स्वायत्त प्रदेशमा समानुपातिक प्रतिनिधित्व हुनेछ । यहाँको हरेक निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुन्छ । ...... हामीले निर्वाचन क्षेत्रबारे कुनै नयाँ कुरा गरेकै छैनौँ । अन्तरिम संविधानमा भएकै व्यवस्था होस् भनेका छौँ । अन्तरिम संविधानले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भनेको छ । ..... राज्यको क्षेत्रमा भूभाग पनि पर्छ, तर महत्त्वपूर्ण जनता हो । बाघभालुको त जनता हुँदैन । पहाड र जंगलको राज्य हुँदैन । राज्यपुनर्संरचना गर्दै छौँ भने ७५ जिल्ला राख्न के जरुरी छ ? जुन कुरा अन्तरिम संविधानबाट प्राप्त गरिएको छ, त्योभन्दा पछाडि फर्कने हो भने प्रतिगामी संविधान हुन्छ । हामीले निर्माण गर्न लागेको अग्रगामी संविधान हो, तर प्रतिगामी संविधानमा पुग्यौँ भने हुँदैन भनेका हौँ । .........

म सानो हुँदा मेरो घरका ५० मिटरमा भारतीय सिमाना थियो । हामी लोटामा पानी बोकेर दिसा गर्न भारततिर जान्थ्यौँ । के त्यसलाई भारतमा गएर दिसा गर्‍यो, कारबाही गर्नुपर्छ भन्ने ? अहिले वीरगन्जमा मान्छे मर्दा रक्सौलको मान्छेलाई दुख्यो ।

रक्सौलका व्यवसायीले एक लाख उठाएर वीरगन्जका मृतक परिवारलाई सहयोग गर्ने भनेर हामीलाई बोलाए । हामी गयाँै । ...... राज्यले हामीलाई मार्दा तपाईंहरूले टुलुटुलु हेरिरहन मिल्दैन । मानवअधिकार हनन् भएको छ भने कुनै लोकतान्त्रिक देशले अर्को देशमा मानवअधिकार हनन भएको छ भनेर बोल्छ । यसलाई हस्तक्षेप मान्दैन । त्यसकारण तिम्रा सांसद छन्, उनीहरू संसद्मा बोलून् । केन्द्रमा पनि बोलून् । यहाँ कफ्र्यु लगाउनुमा काठमाडौं सामान लैजानेबाहेक अरू केही उद्देश्य छैन । वीरगन्जमा कफ्र्यु लगाउने, दंगा क्षेत्र बनाउने कुनै लिगल कारण छैन ।

प्रहरीले आफँै मान्छे मार्ने र आफँै दंगा क्षेत्र घोषणा गर्ने काम गरिरहेको छ ।

हामीलाई मार्न यो गरिएको छ भने हामी रोकिरहेका छौँ, तिमीहरूले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर ।’ ........... कफ्र्यु लगाएर, दंगा क्षेत्र घोषणा गरेर हामीलाई मारिरहेको छ भने हामीलाई मार्ने हाम्रो दुश्मन नै हो । जहाँ हाम्रो रगत मिल्छ, दाजुभाइ छन् त्यहीँ नै गुहार्न जाने हो । नेपालमा हामीले यत्तिका दिन गुहार्‍यौँ, दुई वर्ष गुहार्‍यौँ । मैले संवाद समितिमा नोट अफ डिसेन्ट लेखेर गुहारेँ । विभिन्न समितिमा, संविधानसभामा हाम्रो कुरा सुन्नुको सट्टा हामीलाई मार्छन् भने हाम्रो मानवअधिकारको रक्षा गर भनेर ‘दाजुभाइ’ लाई किन नभन्ने ? ....... विहारका नेता डा. अनीलकुमार सिंहले त भन्नुभयो, ‘हामीले बैठक गरिसकेका छौँ, हामी पनि यो ठाउँमा गाडी रोक्ने काम गर्छौं । तपाईंको आन्दोलनले वीरगन्ज बन्द छ, हाम्रो रक्सौल आन्दोलनविना ठप्प छ । तपाईंहरू कति आक्रोशित हुनुहुन्छ थाहा छैन तर रक्सौलका सारा मान्छे आक्रोशित छन् । आक्रोशको अवस्थामा कुनै अप्रिय घटना नहोस् भनेर चाँजोपाँजो मिलाइरहेको छु । मिल्नेबित्तिकै गाडी रोक्छौँ ।’ ....... यो आन्दोलन लम्बिन्छ भन्ने हामीलाई थाहा छ । जबसम्म हाम्रो अधिकार पूरा हुन्न तबसम्म जारी रहन्छ । ....... जहाँ–जहाँ गोली चलेको छ, त्यो ठाउँमा आगजनी भएको छैन । गोली चलेको ठाउँमा अश्रुग्यास पनि प्रहार भएको छैन । सीधा गोली हानेर मान्छे मारिएको छ । त्यसपछि अन्य ठाउँमा आगजनी भएका छन् । अब कहाँ–कहाँ आगो लाग्छ मलाई थाहा छैन । आन्दोलनले साम्प्रदायिक रूप लिन्छ या लिन्न भन्ने पनि बताउन सक्दिनँ । तर, यसले विखण्डनको रूप लिन्छ कि भन्ने ठूलो डर छ । यहाँ बौद्धिक वर्गले तिमीहरू संघीयताका लागि कतिचोटि मान्छे मार्ने अवस्था सिर्जना गर्छौ, मर्ने नै हो भने देशैका लागि मर भनेको पनि सुन्छु । त्यसकारण मलाई के डर लाग्छ भने उग्र भयो भने त्यतातिर जान पनि सक्छ ।


लक्ष्मण थारुविरुद्ध ज्यान मुद्दा दर्ता, पक्राउप्रति गम्भिर ध्यानाकर्षण
गोली ठोकेर वार्तामा बोलाउनुको के अर्थ ? वार्ता हुँदैन : मधेशी मोर्चा
अब यो भन्दा नि शसक्त आन्दोलन हुन्छ, हेरौं सरकारले अझ कति मधेशी जनताको टाउको र छातिमा गोली हाल्छ ? ..... मोर्चाका प्रमुख नेता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन मोर्चाकै नियन्त्रणमा रहेको भन्दै बरु नेपाल प्रहरी र सशस्त्र प्रहरी सरकारको नियन्त्रण बाहिर गएको आरोप लगाए । अध्यक्ष यादव भने, मधेशी मोर्चाले वार्ता चाहेको छ, तर वार्ता विरोधी एमाले र सरकारका गृहमंत्रीले वार्ताको माहौल भांडने काम गरेको आरोप लगाए । ...... उनले भने, जारी मधेश आन्दोलन हाम्रो पूर्ण नियन्त्रणमा छ। शान्तिपूर्ण छ, तर सरकारी सुरक्षाकर्मी सरकारको नियन्त्रणमा छैनन्। सशस्त्र प्रहरी र नेपाल प्रहरी सरकारको नियन्त्रण बाहिर छ । , उनी अन्धाधुन्ध जनताको छाति र टाउको ताकेर गोली हानि रहेको छ । यसलाई कसरी भन्ने प्रहरी र सुरक्षाकर्मी सरकारको नियन्त्रणमा छ ?
सशस्त्रको गोलीबाट १३ वर्षीय बालक मारिए
६ जना मारिए, जनकपुरमा बालकसहित ३ र जलेश्वरमा महिलासहित ३



तपाईंको देश, तपाईंको संविधान, बधाई छ ! मधेशले अगाडिको आफ्नो बाटो आफै तयार गर्नेछ – प्रशान्त झा
पछिल्लो तीन हप्तादेखि तराई बन्द छ । राजनीतिक पार्टीहरु मात्र होइन नागरिक समाज, युवा क्लबहरु, पेशाकर्मीका संगठनहरु, किसान, चिकित्सक, भूमिहीन, बसाइँ सरेर आएका कामदारहरु सबैसबै काठमाडौंका ‘तीन बाहुन’ले नेतृत्व गरेका तीन पार्टीहरुले निर्माण गरेका संविधानविरुद्ध आन्दोलित छन् । ...... जसरी दश वर्षअघि फेब्रुअरी १ मा ज्ञानेन्द्रले जिते, यो उसको पतन थियो । ..... मधेशी र थारुहरुलाई थाहा छ कि यो संविधानले उनीहरुलाई संसदमा, संघीय एकाईहरुमा प्रतिनिधित्वविहीन बनाउने छ । मधेशको सन्दर्भमा मधेशीहरुलाई स्रोत र शहरहरुबाट विमुख बनाउने छ जोसँग उनीहरुको जैविक सम्बन्ध छ । र, थारुहरु जो नेपालको इतिहासमा दलितहरुलाई छाडेर सबैभन्दा शोषित छन्, उनीहरु अल्पसंख्यक भएर बाँच्न बाध्य हुनुपर्नेछ । त्यसैगरि नागरिकताको व्यवस्थाले उनीहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा राख्नेछ । ...... सडकमा कुनै एक मधेशी नमारिएको दिन छैन । सेना परिचालन गरिएको छ र कर्फ्यु लगाइएको छ । तर पनि हजारौं जनताहरु कोइराला, ओली, दाहालको आदेशमा कुनै पनि बेला गोलीले सडकमा मारिने जान्दाजान्दै पर्वाह नगरी विरोधमा उत्रिएका छन् । ...... यो यस्तो समय भएको छ कि जातिवाद छताछुल्ल छ । यो धोकाको यस्तो समय भएको छ, माओवादीहरु जसलाई हामीले सघायौं, एकाकार भयौं, उसले आफ्ना अडानहरु छाडेको छ । ...... यो यस्तो समय भएको छ जहाँ राष्ट्रिय मानवअधिकार आयोग जो बाहुनहरुको नियन्त्रणमा छ, कुनै एक निश्चित समुदायको प्रवक्ता बनिरहेको छ । ........ शिर्ष नेताहरु जो ६ हप्ताअघि मात्र निर्भिकताका साथ भन्ने गर्थे कि यहाँ कुनै आन्दोलन हुने छैन, तर आजकल भन्ने गर्छन्– ठिकै छ केही मानिस मर्नेछ । ऊ र उनीहरु जस्तैहरु विश्वास गर्छन् कि उनीहरुले आन्दोलन तुहाइदिनेछन्, संविधान निर्माण हुनेछ, विरोध तुहिने छ, अन्तर्राष्ट्रिय समुदाय उनीहरुकै पछि लाग्नेछ र नेपालका खातापिता (एलिट) बाहुन–क्षेत्रीहरुले यो राज्यमा नियन्त्रण गर्नेछन्, निरन्तरता दिनेछन् । ...... यदि त्यसो भयो भने हाम्रो बाटो स्थायी रुपमा अलग हुनेछ । ... तपाईंको देश, तपाईंको संविधान, बधाई छ ! मधेशले अगाडिको आफ्नो बाटो आफै तयार गर्नेछ ।

No comments: