Sunday, September 28, 2014

"देशै नरहन सक्छ।" हो र?


हिजो प्रधान मंत्री सुशील कोइरालाले यहाँ न्यु यॉर्कको सनीसाइडको कार्यक्रममा "नेपालभन्दा पनि उग्र" भन्नुभो, "देशै नरहन सक्छ" भन्नुभो। बड़ो व्यवस्थित कार्यक्रम थियो। सीके राउतको मुद्दामा प्रोटेस्ट गर्नेहरुले पनि बड़ो व्यवस्थित ढंगले आफ्नो कुरा राखे। होहल्ला गर्ने मनसाय थिएन, भएन पनि। एक जना प्रमुख वक्ता जनजाति महासंघका लुईसंग वाईबाले मन्चबाट नै भन्नु पर्ने कुरा भन्दिए पछि प्रोटेस्ट असंयमित हुने कुरै भएन।

देशै नरहने भनेको के? भारत एशियाबाट उछिट्टिएर नेपाल समुद्रमा पुग्ने भनेको होइन होला। नेपाललाई भारत अथवा चीनले कब्ज़ा गर्ने कुरा गरेको होइन होला। भनेपछि देशलाई खतरा प्रकृतिबाट छैन, छिमेकीबाट छैन भने खतरा आयो कहाँबाट?

देशै नरहने भनेको देश टुक्रिन्छ भनेको हो? राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रका पालामा सुशील कोइराला र सुशील कोइराला जस्ता थुप्रै लोकतन्त्रका सेनानीहरुलाई "अराष्ट्रिय तत्व" को संज्ञा दिइएको हो। त्यति बेला लोकतन्त्र चाहनेहरुलाई त्यसरी नै गाली गरिन्थ्यो। अहिले त्यही सुशील कोइरालाले संघीयता चाहनेहरुलाई त्यसै लवजमा यसरी गाली गर्नु कहाँसम्मको ठीक कुरा हो?

पंचायती व्यवस्थाभन्दा लोकतंत्र बढ़ी राष्ट्रवादी हो किनभने लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहित रहन्छ न कि एक व्यक्ति राजामा। त्यस्तै संघीयताबिनाको नेपालभन्दा संघीयता भएको नेपाल बढ़ी बलियो नेपाल हो। संघीयताबिनाको नेपाल बरु टुक्रिने सम्भावना बढ़ी हुन्छ किनभने संघीयताबिनाको नेपालमा सबैलाई उकुसमुकुस भइराखेको हुन्छ। भइराखेको छ पनि। संघीयता भएको नेपालमा विभिन्न समुदायले समानता र अवसर पाउने संभावना बढेर जाने भएकोले त्यो नेपाल टुक्रिने सम्भावना कम भएर जान्छ।

पंचायतलाई पनि त पंचायती प्रजातंत्र भनिन्थ्यो। अझ नेपालको माटो सुहाउँदो पंचायती प्रजातंत्र भनिन्थ्यो। पछि त त्यो सुधारिएको पंचायती व्यवस्था भयो जहाँ कि वोट खसाल्न पनि पाउने भयो। तर खोइ गिरिजा कोइरालाले चुनाव लड़ेनन त। किनभने त्यो लोकतंत्र थिँदै थिएन।

त्यस्तै अहिले नेपालमा सत्तामा रहेका थुप्रैले जे कुरा संघीयता हुँदै होइन त्यसलाई संघीयता भनिरहेका छन। संघीयता के हो भन्ने कुरा पछि गरौं, पहिला के होइन भन्ने पट्टी जाऊँ।

संघीयता भनेको देश तोड्ने होइन, त्यसको उल्टो हो। संघीयता भनेको देश जोड़ने हो। धान रोपेकोलाई धान काटेको भन्न मिल्दैन। त्यस्तै संघीयतालाई देश तोड़ेको भन्न मिल्दैन। संघीयता भनेको विकेन्द्रीकरण होइन। यो प्रशासनिक कुरा होइन। तर संघीयतामा power devolution हुन्छ र व्यापक रुपमा हुन्छ। संघीयता भनेको वामदेव र सुशीलको "निगाह" बाट जनताले पाउने कुरा होइन। लोकतन्त्र जस्तै संघीयता पनि जनताको अधिकार हो। र जसरी निर्दलीय प्रजातन्त्र भनेको प्रजातन्त्र होइन, जोक हो, ठट्टा हो, त्यस्तै संघीयता भनेकै आत्म अधिकार भएको संघीयता हो। आत्म अधिकार बिनाको संघीयता त संघीयता नै होइन।

स्कॉटलैंडमा भएको जनमत संग्रहले ब्रिटेनलाई झनै बलियो बनाएको छ। आत्म निर्णयको अधिकारले ब्रिटेनलाई झनै बलियो बनाएको छ। लोकतन्त्रमा राष्ट्रियता अझै बलियो भएर जान्छ, संघीयताले सच्चा राष्ट्रीयताको निर्माण गर्छ।

बहुदल आए देशै नरहन सक्छ भन्नेहरु थिए। सुशीलको भाषा तिनीहरुसँग किन मिलेको?


No comments: