राजा महेन्द्रका पुत्रहरु

Mahendra of Nepal (second from left) in a visi...
Mahendra of Nepal (second from left) in a visit to Israeli Weizmann Institute of Science, Rehovot, 1958 (Photo credit: Wikipedia)
संघीयताको विवाद त्यति बेला हुन्छ जति बेला सबै संघीयता चाहिन्छ भन्ने कुराको पक्षमा हुन्छन्। अनि राज्य कति वटा हुने, तिनको नाम के हुने भन्ने कुरामा विवाद र छलफल हुन्छ। नक्शाको कुरामा छलफल हुन्छ।

तर संघीयताको एजेंडा नै नमान्नेहरुसँग के विवाद र के छलफल? त्यस्ताको विरुद्ध त आन्दोलन र क्रान्ति हुन्छ। एक भाषा, एक भेष, एक धर्मको रुपमा प्रस्तुत हुने "राष्ट्रियता" राजा महेन्द्रको राष्ट्रियता हो। संघीयताको विरोधमा उभिन पुगेका राम शरण महत, केपी ओली, वामदेम गौतम जस्ता महेन्द्रपुत्रहरुले वार्ताको बाटो बन्द गर्ने कसरत थालेका हुन। त्यसको जवाफ सम्वाद होइन, आन्दोलन हो।

त्यो महेन्द्रपुत्र सोंच सम्विधान सभाको आधारलाई नमान्ने सोंच हो। जनताको मैंडेटको अपमान हो। नत्र भने राम शरण महत केंद्रीय नेता भएको पार्टी र केपी ओली अध्यक्ष भएको पार्टी दुइटैले जनतासामु जाँदा हामी संघीयताको पक्षमा छौं भनेर भनेकै हुन। संघीयताको पक्षमा स्पष्ट र भारी मैंडेट छ। अहिले आएर संघीयताको बिनाको संविधान जारी गर्ने कुरा गर्नु कुन मुखले भन्न सकेका हुन?

नेपाली भन्ने पहिचानको निर्माण इतिहासमा पहिलो पटक हुन लागेको हो। नेपाल भन्ने देश बाहुन क्षेत्री पुरुषहरुको मात्र होइन, सबैको हो भन्ने निर्णय हुन लागेको हो। पृथ्वी नारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेका हुन, नेपालको भावनात्मक एकीकरण अहिलेसम्म भएकै छैन। नेपालको भावनात्मक एकीकरण इतिहासमा पहिलो पटक संघीयता मार्फ़त यस संविधान सभाले गर्ने हो।

अहिले आएर संघीयताको विरोध गर्नेहरुलाई अराष्ट्रिय तत्व भन्नुपर्ने हुन्छ। किनभने संघीयताले राष्ट्रियताको निर्माण गर्ने हो। यो देश बाहुन क्षेत्री पुरुषहरुको मात्र होइन, दलित, मधेसी, जनजाति र महिलाको पनि हो। त्यो सत्य स्थापित गर्ने संघीयता सहितको संविधानले हो।

सद्दाम हुसेनको इराक़मा २०% जनसँख्या भएको सुन्नीहरुको बोलबाला भए जस्तोको अवस्था खोजेका हुन महेन्द्रपुत्रहरुले। त्यो दिवा स्वप्नलाई जति छिटो त्याग्न सक्यो, तिनकालागि त्यति नै राम्रो हो।

महेन्द्रवादको अर्को पक्ष छ। महेन्द्रवादमा भारतको अन्धो विरोधलाई पनि "राष्ट्रियता" भन्ने गरिन्छ, र आफ्नो मनको र व्यवहारको कालो, आफ्नो अक्षमतालाई ढाकछोप गर्न महेन्द्रपुत्रहरुले त्यसलाई प्रमुख रुपमा प्रयोग गर्ने गरेको देखिन्छ। नत्र वामदेव गौतमभन्दा असक्षम र नालायक व्यक्तित्व नेपालको राजनीतिमा अर्को को छ? ४० लाख नेपालीहरुलाई नागरिकता पत्र बाट वंचित गराउने षड्यन्त्रको जिम्मेवारी गृह मन्त्रीले नलिए कसले लिने?

पृथ्वी चन्द्रमाको यथार्थ हो, सुर्य पृथ्वीको यथार्थ हो, त्यस्तै भारत नेपालको यथार्थ हो।

नेपाल र भारत को जस्तो नजिक को सम्बन्ध कुनै दुई देशको छैन, अमेरिका र कनाडाको पनि छैन। त्यो जनता लेवलको कुरा। र त्यो तराई का मधेसी को मात्र होइन नेपालको प्रत्येक समुदाय को कुरा। शाह राणा को पनि "बेटी-रोटी" कै सम्बन्ध हो। हिमाली भेग को कुरा गर्ने हो भने तिब्बती शरणार्थी सबै भारत मै छन। यता दार्चुला, उता धारचूला, मान्छे दुबै तिर उस्तै।

सरकार लेवल को कुरा गर्ने हो भने भारत मा जुन सुकै सरकार आए पनि हाम्रो नेपाल संग जस्तो राम्रो सम्बन्ध अरु कुनै देशको सरकार संग छैन भन्छ। के भनेको होला?

नेपालका प्रत्येक पार्टी का नेता दिल्ली धाउँछन्, र त्यो भु-राजनीति बुझ्नेले अप्राकृतिक मान्दैन। चन्द्रमा पृथ्वी वरिपरि घुम्छ, पृथ्वी सुर्य वरिपरि घुम्छ। बरु राजनीति र लोकतंत्र बुझ्नेले सोध्छ, भारतले ठग्छ भन्ने त्यत्रो ठुलो डर छ भने नेपालको संसदले अर्को देश सँग गरिने कुनै पनि संधि सम्झौता नेपालको संसद मा पुर्ण बहसमा लगेर बहुमत ले अनुमोदन गर्न पर्ने प्राबधान किन नराखेको?

भारत विरोध नेपालको "राष्ट्रियता" कुनै अर्थमा हुन सक्दैन। भारत बिना नेपालमा आर्थिक क्रान्तिको कल्पना गर्न सकिँदैन। र अहिले नेपालको "राष्ट्रियता" भनेकै गरीबी उन्मुलन हो। किनभने नेपाल र भारतबीच कुनै किसिमको सांस्कृतिक भिन्नता छैन। नेपाली भाषा बोलनेहरु नेपालमा भन्दा भारतमा बढ़ी छन। नेपाल भु-परिवेष्टित देश भएर बेहोर्नु परेको घाटाहरुको समाधान नै दक्षिण एशियाको आर्थिक एकीकरण हो।

संघीयताको विरोध गर्नेहरु, भारतको अंध विरोध गर्नेहरु अराष्ट्रिय तत्वहरु हुन। तिनीहरुलाई नेपाली राजनीतिको मुख्य धारबाट किनारा लगाउनु बड़ो आवश्यक छ।

Comments