Thursday, January 19, 2006

देशव्यापी पम्फलेटिङ


हिंसामाभन्दा अहिंसामा बढी तागत छ। बन्दुकमाभन्दा कलममा बढी तागत छ। निरंकुशतामाभन्दा लोकतन्त्रमा बढी तागत छ। राजा, पुलिस र सेनासँग तागत छैन, तागत जनतासँग छ। यी सत्यलाई स्थापित गर्ने एक तरिका देशव्यापी पम्फलेटिङ हो। यसमा संसारभरिका नेपालीहरु सहभागी हुन सक्छन् र हुनु जरुरी पनि छ।

पम्फलेटिङकालागि शब्द चाहियो, छाप्नकालागि पैसा चाहियो, देशव्यापी वितरणकालागि संगठन चाहियो। तीन वटै कुरा देश र प्रवास दुवैबाट जुटाउनुपर्छ। पम्फलेट कागजमा त छाप्ने छाप्ने, साथै इन्टरनेट मार्फत पनि व्यापक प्रचार प्रसार गर्ने।


इन्टरनेटमा जसले जति लेखे पनि भयो। त्यसमध्येको उत्क्रृष्ट सामग्री पम्फलेटमा जान्छ। इन्टरनेटमा त अडिओ भिडिओको पनि संभाव्यता रहन्छ
(Blogger, Audioblogger, Blastpodcast, YouTube)। तर नेपालको आम जनमानस समक्ष पुग्न पम्फलेट नै चाहिन्छ। फ्रान्सको क्रान्ति पम्फलेटिङले संभव बनायो। हामीले फ्रान्समा जस्तो हिंसात्मक क्रान्ति खोजेको होइन। तर अब आन्दोलनको समय समाप्त भइसक्यो, अब क्रान्तिको समय आइसक्यो।

क्रान्तिको मेरुदण्ड नै देशव्यापी पम्फलेटिङ हुनेछ। त्यसकालागि पैसा प्रवासबाट पनि पठाइनेछ। संगठन त आठ पार्टी र तिनका भ्रातृ संगठनहरु छँदै छन्। विशेष गरेर आठ विद्यार्थी संगठनले अहं भुमिका खेल्न सक्छन्।
राजा खुदलाई संवैधानिक राजतन्त्र चाहिएको छैन। भनेपछि लोकतान्त्रिक गणतन्त्र अब एक मात्र विकल्प बाँकी छ। आन्दोलन भनेपनि, क्रान्ति भनेपनि, संविधान सभा भनेपनि गन्तव्य अब लोकतान्त्रिक गणतन्त्र नै हो। त्यसमा अब कसैलाई दुई मत बाँकी न रहोस्।

२०४६ सालमा बहुदल भन्ने नारा थियो। त्यस्तै यस
क्रान्तिलाई पनि नबढाइकन दुई शब्दमा एउटा नारा दिनुपर्छ, र त्यो नारा लोकतान्त्रिक गणतन्त्र नै हो। जसरी संवैधानिक राजतन्त्रकालागि राजाको सहमति चाहिन्छ, संविधान सभा भनेको पनि त्यस्तै हो। राजाले संविधान सभामा जान्न भनेर स्पष्ट भनिसके। देश संविधान सभामा त जान्छ तर त्यो राजतन्त्रको समाप्ति पछि मात्र जान्छ र त्यस संविधान सभाले गणतन्त्रको परिधि भित्र रहेर नै नया संविधानको निर्माण गर्नेछ।

राजतन्त्रको समाप्ति कसरी हुन्छ त? संवैधानिक राजतन्त्र र संविधान सभाको कुरामा जस्तै त्यसमा पनि राजाको रोल छ। स्वेच्छाले जान्छन् भने एउटा नागरिक भएर, व्यापारी भएर बसुन्। उनको निजी सम्पत्ति बरकरार रहन्छ। होइन यदि अत्याचार गर्छन् भने क्रान्तिले संसद पुनर्स्थापना गर्छ र त्यस संसदले उनको सर्वस्व हरण गर्छ। अति नै अत्याचार गर्छन् भने उनलाई जेल चलान हुन्छ।

क्रान्तिले संसद पुनर्स्थापना गरेपछि त्यो संसदले क्रान्तिको बलमा शाही सेनालाई राष्ट्रिय सेनामा रुपान्तरण गर्छ र संसदको अधीनमा ल्याउँछ। अन्तरिम प्रधानमन्त्री सेनाध्यक्ष बन्छन्। त्यो सेना जस्तातस्तै बरकरार रहन्छ। जनताद्वारा निर्वाचित राष्ट्रपतिले मात्र सेनामा फेरबदल गर्न पाउनेछन्।
अन्तरिम सरकारमा माओवादीको पनि संलग्नता रहनेछ, तर त्यो दुई सेनाको एकीकरण गरेपछि मात्र। यो सम्पूर्ण रोडम्यापकालागि देशव्यापी पम्फलेटिङ मेरुदण्ड हो। देशव्यापी पम्फलेटिङ त्यति जरुरी छ। देश र प्रवासमा रहेका सम्पूर्ण नेपालीले यसमा भरमग्दुर सहयोग पुर्याऔं।


प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल

No comments: