BP Koirala: Inept?

राजाले सीधै अब कि तँ छैनस् कि म भन्दासमेत बीपी भने लाचारीको बिछ्यौनामा बसेर मन्त्रिपरिषद बैठकमै भनिरहेका थिए, ‘त्यसलाई रोक्ने वा प्रतिकार गर्ने हामीसँग कुनै उपाय छैन । यसलाई ब्यहोर्नैपर्छ (कोइराला, उही, पृ. २७३) ।’ उपाय नभएको होइन, बीपीको दीर्घचेतको चश्मा दोषी भएको थियो, सत्तामा अडेस लागेका कारण । पौने दुई वर्षअघि मात्रै प्रचण्ड बहुमत ल्याएर सरकार बनाएका बीपी प्रजातन्त्र नै खाएर महेन्द्रले मनोमानी गर्दै छन् भनेर अनेक मन्त्री, राजनीतिक नेता, कूटनीतिक नियोगका मानिसहरूले भनिरहँदा पनि राजाले केही गर्दैनन्, गरे नै भने पनि पो के नै गर्न सकिन्छ र भन्ने खालको निराशाको जुन खाले चरममा पुगेर आत्मसमर्पण गरिरहेका थिए, त्यसको विकल्पमा सारा पार्टी पंक्ति परिचालन गरेर केही सहरमा सरकारका पक्षमा ठूलठूला प्रदर्शन गराएको भए, त्यसले महेन्द्रको उत्तेजित भइरहेको ‘ढ्याके चश्मा’ को ‘पावर’ घटाइदिने थियो । उसमाथि कम्युनिस्ट पार्टी र गोर्खा परिषदले प्रधानमन्त्री बीपीलाई महेन्द्रले गडबडी गर्न लागे हामी तपाईंकै पक्षमा उभिन्छौं भनेर बलियो ढाडस दिएका थिए । तर, बीपी ढोडजस्तो आत्मबलको भरोसामा उभिएका थिए क्यार, नीच मारेर महेन्द्रको मार थाप्ने घडीको प्रतीक्षा गरिबसे !
२००७ सालमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा भएको भनिएको सुलहको जुन प्रस्ताव थियो, त्यसमा सशस्त्र युद्धरत नेपाली कांग्रेसको कुनै पनि किसिमको अडान या विचारको प्रतिनिधित्व या संलग्नता थिएन । खासमा पहिले नेहरूले प्रस्ताव गरी त्रिभुवनमार्फत पठाएका बुँदाहरू मोहनशमशेरले आफ्नो हुर्मत जोगाउन नौटंकी गरी सामान्य संशोधनसहित जे घोषणा गरे काठमाडौंमा, त्यसलाई भारतमा शरणार्थी बनेका त्रिभुवनले उतैबाट समर्थन गरे । बेलायत भ्रमणमा रहेका नेहरूले लन्डनबाटै वक्तव्य जारी गरिदिए— नेपालका प्रधानमन्त्रीले राजनीतिक सुधारको जुन घोषणा गरेका छन्, म त्यसको स्वागत गर्छु । कालान्तरमा मोहनशमशेरको त्यही घोषणा अनि त्यसउपर त्रिभुवन र नेहरूको अनुमोदनलाई कांग्रेसले स्वीकार गर्‍यो । ......... यी घटनाहरूले कांग्रेस र यसको नेतृत्वमा जारी सशस्त्र संघर्षको खास अधिकारी दाबी गर्ने बीपी आफ्नो लक्ष्य, विचार, क्रान्तिको आखिरी परिणामको दृढतामा रत्तीभर प्रस्ट थिएनन् भन्ने देखाउँछन् । ....... मोहनशमशेरको नेतृत्वको सरकारबाट राजीनामा दिएपछि बीपी आफ्नै नेतृत्वमा सरकार बन्नेमा ढुक्क थिए । तर बने मातृकाप्रसाद । त्रिभुवन भन्थे— युवराज (महेन्द्र) ले तिमीहरू (बीपी) लाई धुरुधुरु रुवाउँछ । ....... उनकै मन्त्रिपरिषदका सदस्यहरू भन्थे— महेन्द्रले सत्ता लिँदै छन् । मस्तराम बीपी भन्थे— तपाईंसँग के प्रमाण छ ? त्यसै भन्दिने जे पनि ? आफैलाई जेलको छिँंडीमा पटक–पटक सुताउने राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भन्छन् बीपी, देशमा खतरा आइलागेको कारण देखाएर । उनको घाँटी जोडिएको राजतन्त्रले उनको बुझाइविपरीत त्यसको थप तीन दशक पनि देशलाई थेग्न सकेन । यसमा पनि बीपीको दृष्टिचेत दोषी देखिन्छ । ....... पुष्पलालले बीपीलाई पञ्चायतविरुद्ध संयुक्त संघर्षको प्रस्ताव राखेका थिए । २०३० को त्यस्तै प्रस्तावबारे बीपीले सारनाथमा जवाफ दिए पुष्पलाललाई, ‘नेपालका कम्युनिस्टहरूसँग मिलेर जाँदा मलाई गाह्रो हुन्छ । जानु त पर्ने हो, पर्खनुस् ....... बरु पुष्पलालले भनेझैं बीपीले संयुक्त संघर्ष अस्वीकार गरेको सोह्र वर्षपछि कांग्रेस–कम्युनिस्ट संयुक्त आन्दोलनका कारण, बीपीको सरकार बरखास्त गरी महेन्द्रले लादेको पञ्चायत बिदा भयो । बरु पुष्पलालमा देशको राजनीतिको दूरदृष्टि देखिन्छÙ वैचारिक दृढता र दीर्घकालीन कार्यक्रम देखिन्छ । संविधानसभा, गणतन्त्रजस्ता जुन कार्यक्रम उनी नेतृत्वको कम्युनिस्ट पार्टीले अघि सारेको थियो, समय लाग्यो, तर देशले त्यहाँ नपुगी धरै पाएन । यस्तो थियो, बीपीको राजनीतिक चेतको दृष्टिदोष । ........ कांग्रेसको बहुमत आउँछ भन्ने निश्चित लागेको भए सम्भवतः महेन्द्रले चुनावै गराउने थिएनन् । त्यसैको परीक्षण गर्न उनी चुनावको घोषणाअघि देश दौडाहामा निस्किएका थिए । काठमाडौं, थानसिंह बेसी, नुवाकोट, सामरी भन्ज्याङ, कटुन्जे, ज्यामरुङ, दरबुङ फाँट, मनकामना, गोरखा बजार, पालुङटार, बन्दीपुर, दमौली, पोखरा, पश्चिम नुवाकोट, भीरकोट, गह्रौंकोट, तानसेन, खस्यौली, तौलिहवा हुँदै नेपालगन्ज, दाङ लगायत पुगेका थिए उनी । तत्तत् स्थानका कर्मचारी र सुरक्षा निकाय, गोर्खा परिषदसम्बद्ध नेताहरूसँगको कुराकानीबाट महेन्द्र कांग्रेसको बहुमत आउँदैन भन्ने निश्चयमा पुगेका थिए । त्यही भ्रमणका क्रममा हो, महेन्द्रले तौलिहवामा काठमाडौंलाई नेपाल नभन्नू, मेचीदेखि महाकालीलाई नेपाल भन्नू, राजधानीलाई काठमाडौं मात्रै भन्नू भनेर भाषण गरेको । उनलाई निकटस्थहरूले चुनावमा कसैको पनि बहुमत आउँदैन भनेर कान फुकेका थिए ............. महेन्द्रले कथं बीपीले चुनाव जितिहाले, कसरीआफ्नो हात माथि पार्ने भन्ने खेललाई आकार दिइसकेका थिए, संविधानमा आफूअनुकूल प्रावधानहरू राखेर । २००७ सालको परिवर्तनपछि ‘नेपाल सरकार’ लेख्ने गरिएकामा २०१५ वैशाख २ देखि महेन्द्रले ‘श्री ५ को सरकार’ लेख्ने आदेश जारी गराएका थिए । सेनाआफ्नो मातहत रहने मात्रै होइन, संसदमा राजपरिवारबारे छलफल गर्न नपाइने, संकटकालीन अधिकार राजाले प्रयोग गर्ने र त्यसलाई संसदबाट अनुमोदन गर्न नपर्ने प्रावधान संविधानमा उल्लेख गरिएका थिए । आसन्न चुनावको सम्भावित बहुमतको ज्वरोले ग्रस्त बीपीको दोषी चश्माले महेन्द्रको चतुर्‍याइँको तस्बिर प्रस्टसँग देख्न सकेन । फलस्वरूप पुस १ मा महेन्द्रले आफूसँग रहेको त्यही विशेषाधिकार प्रयोग गरेर प्रजातन्त्र सिद्ध्याइदिए । ......... भ्रष्टाचारको विरोध र सुशासनको हौवा पिटाएर शिशु प्रजातन्त्रको जननिर्वाचित डेढवर्षे सरकारलाई बलात् जेलको बाटो देखाएका महेन्द्रबारे उनैले टीका लगाएर प्रधानमन्त्री बनाएका डा. केआई सिंहले बडो कठोर टिप्पणी गरेका थिए— मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल खोज्दै गएँ । जाँदा–जाँदा म त राजदरबारको मूलढोकामै पो पुगेंँ । जुन दिन त्यहाँ पुगेँं, मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुपर्‍यो .............. महेन्द्रलाई लाग्थ्यो— सबै शक्ति हातमा लिएर, विरोधीहरूलाई तह लगाएर प्रयास गरियो भने देश विकास त चुट्कीको भरमा गर्न सकिहालिन्छ । बीपीले बित्थामा दुई वर्ष मलाई गाली गरेर निखारे । तर, जब सत्ता हातमा लिएर उनी अघि बढे, २०२२ तिरदेखि नै उनी अब पार लाग्दैन भन्नेमा पुगिसकेका थिए । जीवनको आखिरी कालमा आफूनिकट भएकाहरू सबै स्वार्थवश आफूसँग नजिकिएको, प्रजातन्त्रको विकल्पले गतिलो परिणाम नदिएको र बीपीको दाँजोमा उभिने अर्को मानिस आफूले नदेखेको बताउन थालेका थिए । ........ प्रधानमन्त्री बनाएर दुनियाँलाई देखाउन बीपीभन्दा योग्य मानिस मसँग कोही छैन । .......

२००३ माघ १२–१३ मा कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस) को सम्मेलनको समापन समारोहमा बीपीले भनेका थिए— ‘वास्तवमा नेपाल र भारत दुई देश हैनन् । सबै प्रकारले नेपाल भारतवर्षको एउटा अंग भएको देखिन्छ

........ तिनै बीपी २०३३ साल पुस १६ मा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछिअसाधारण देशभक्तका रूपमा प्रस्तुत हुन्छन् । ..... बीपीमा नजिकको घटनाक्रम र त्यसले ल्याउने परिणामबारे सुझबुझ राख्नमा दृष्टिदोष देखिन्छ । तात्कालिक घटनाक्रमले जता लतार्‍यो, उतै लतारिने प्रवृत्ति देखिन्छ उनमा । ....... आफ्नै निर्वाचित सरकारसम्म जोगाउन नसक्ने, राजाका षड्यन्त्रहरूको सामना गरेर त्यसलाई विफल बनाउन नसक्ने, सेनाको लोकतान्त्रीकरणको होस सैन्य–बन्दी बनेपछि मात्र आउने, संविधानसभाको युगीन आवाजलाई संसदीय चुनावसँग साटफेर गर्ने, सत्तामा छँदा अरूमाथि दमन गर्ने बीपी कमजोरीको उत्तिकै अग्लो रासमा उभिएका छन् । ........ महेन्द्रमा भने तत्कालीन समयलाई देख्न सक्ने नजिकको दृष्टि तेज देखिन्छ भने आफ्ना कदमले ल्याउन सक्ने दीर्घकालीन असर खुट्याउन सक्ने क्षमता कमजोर ।

Comments