KP Oli: Backstory

सागभात खान समस्या पर्ने ‘केपी दाइ’ को कथा !
हावा, पानी, बिजुली अनि ओली, बोली र गोली
आठराईको इवा (मेरो गाउँ सीमा जोडिएको ह्वाकु) बाट गरिबी छल्न झापा आउनुभयो । झापा (हत्या) काण्डमा मुछिएर जेल पर्नुभयो । म त झापाली राजबन्दीहरुको रिहाइका लागि व्यक्तिगत रुपमै जीउज्यान छोडेर लागेँ । ......मेरा भाइबहिनी र साथीसङ्गीहरुले परिवारकै अभिन्न सदस्यसरह जेलजेलमा गएर खासगरी ओली, मैनाली र अधिकारी दाइहरूलाई माया गरे । दिनहुँ पत्रपत्रिका पुर्याउने (पत्रकार किशोर श्रेष्ठसमेत) देखि हरेक चाडबाडमा खानपान, फूलमाला र नाचगानसमेत गरे ।......जेलबाट छुटेपछि पुतलीसडकस्थित हाम्रो डेरा के.पी. दाइको आफ्नै घरसरह थियो । एउटै भान्सा र एउटै सानो खाटमा सुताइ त कति भयो कति । लुगाफाटोदेखि गोजी खर्चसम्म । नेपालदेखि अमेरिकासम्म । झन्डै नातासमेत जोडिएको । तर, एकदिन के.पी. दाइले मलाई भने –.......“तपाइँ यो राजनीति साजनीतितिर नलाग्नुहोस् । मानवअधिकार नै ठीक छ । नत्र मेरैजस्तो हालत हुनेछ । दुःख पाइन्छ । साग चामल किन्ने पैसा पनि नभएर दुःख पाइनेछ ।” ...... प्रसङ्गवश, सी.पी.(मैनाली) दाइकी पत्नी निलम के.सी.लाई पाटन दरबार स्क्वायरको छिँडीमा औषधि गर्न भनेर १,००० रूपैयाँ र आरके दाइलाई बशन्तपुको डेरामा घर खर्च भनेर पत्रिका बेचेर १०/१५ सय रुपैयाँ दिने गरेको अहिलेजस्तो लाग्छ । तर, समय बलवान ! उस्तै परे अहिले त सबै अख्तियारका लागि योग्य साबित ! ..... एमालेमा के.पी. दाइको उत्थान भयो । राष्ट्रघाती महाकाली सन्धि पारित गर्न ज्यान छोडेर लागे । नेपाललाई वर्षको १ खर्ब २१ अर्ब नाफा हुने भाषण ठोके । आखिर कुरा त हावै न थियो ! तर कुनैबेला वी.पी. को राजासँगजसस्तै के.पी.को भारतसँग घाँटी जोडियो । भारतको सहयोगमा प्रधानमन्त्री बन्न उनै धेरैपटक दिल्लीमा धर्ना बसेको कसलाई पो थाहा छैन र ! ...... एमालेलाई धन्यवाद, जसले ओलीले कहिल्यै नदेखेको प्रधानमन्त्री हुने सपना पूरा गरिदियो । अनि त्यस विस्तारवादी भारतलाई पनि धेरै धन्यवाद, जसले मेरो एउटा गरिब, अनपढ र स्वार्थका लागि भारतपरस्त बन्न पुगेको गाउँलेलाई आज एकाएक राष्ट्रको क्रान्तिकारी र देशभक्त नायकको शिखरमा पुर्याइदियो । ..... वास्तवमा मनभित्रैदेखि भन्ने हो भने कुनै बेला एकछाक भात र एक मूठो सागका लागि संघर्ष गरेर मजस्तालाई राजनीतिमा नलाग्न अर्ति दिने के.पी. दाइ आज अचानक यतिमाथि पुगेको उपलक्ष्यमा मभन्दा बढी खुशी हुने शायदः अरु कोही छैन । खाली मैले भन्ने अवसर र मौका नपाएरमात्र हो ।

Comments