Wednesday, October 15, 2014

झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर बारे प्रचण्डसँग मेरो कुरा मिल्यो

प्रचण्डले गलत कुरा गरे भने त्यसको विरोध हुनुपर्छ। तर यहाँ कागले कान लगेको जस्तो देखियो। अलिक राम्रोसँग हेर्नुस्। वहाँले काँग्रेसले ल्याएको नक्शाको प्रतिवाद गर्नुभएको छ। झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलाई मधेशबाट खोस्ने जुन अप्राकृतिक र अबैज्ञानिक नक्शा काँग्रेसको तर्फबाट आएको छ, प्रचण्डले त्यसको विरोध गरेका हुन। र विरोध गर्दा नारेबाजीमा नगएर समझाइ बुझाइ गर्न खोजेका हुन। 

झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर बारे मेरो कुरा र प्रचण्डको कुरा १००% मिलेको छ।
"मधेसमा पहाडिया, थारु र मुस्लिमलाई समेत मिलाएर कसैको पनि बहुमत नपुग्ने गरी बहुपहिचानयुक्त प्रदेश बनाउँदा मात्रै राष्ट्रिय एकता हुन सक्ने प्रचण्डको विश्लेषण छ । ‘लिम्बूवान भनेपछि त्यहाँ लिम्बूहरुको बहुमत हुँदैन ।.... ‘तराईमा पनि हामीले त्यही नीति लिनुपर्छ । विचार गर्नुहोला, हाम्रो कुनै पनि प्रदेश एउटा जाति र भाषाविशेषको बहुमत हुनेवाला छैन ।’..... ‘सबै प्रदेशहरु जातीय बहुपहिचानवाला प्रदेशै हुनेछन्, एउटैको बहुमत कहीँ पनि हुँदैन । पहाडमा सबै प्रदेशहरु बहुजातीय प्रदेश हुन्छन् भने तराईमा मात्रै त्यस्तो किन नगर्ने भन्ने हाम्रो तर्क छ ।’ .... ‘हाम्रो भनाइ के हो भने त्यो समुदायसँग पहाड पनि मिलाइदिनुपर्छ भन्ने हो क्या । त्यसलाई पनि बहुजातीय, बहुभाषिकै बनाउनुपर्ने हुन्छ । यसलाई बहु सेन्टिमेन्ट भन्न पनि सक्नुहुन्छ, बहुमनोविज्ञान भन्न पनि सकिन्छ ।’ ...... ‘जस्तो झापा, मोरङ, सुनसरीलाई र चुरेको तल्लो ढलोलाई पनि मधेसमा हाल्यो भने त्यहाँ मधेसी सेन्टिमेन्ट भएको जनमत भएको ठाउँमा कसैको पनि बहुमत हुँदैन । त्यहाँ एउटा भाषाविशेष या जातिविशेषको बहुमत हुँदैन ।’ ....... ‘कसैको पनि बहुमत नभए यसको परिणाम के हुन्छ भने एकतामा जान्छ’ उनले भने, ‘कसैलाई मुख्यमन्त्री बन्नुपर्‍यो भने उसले थारुको पनि विश्वास लिनुपर्‍यो, मुस्लिमको पनि लिनुपर्‍यो, पहाडियाको पनि लिनुपर्‍यो र मधेसीको पनि लिनुपर्‍यो ।’ ........ त्यसैगरी पहाडिया मनोविज्ञानको कोही नेता मुख्यमन्त्री हुने हो भने उसले मधेसीलाई पनि विश्वासमा लिनुपर्ने, थारुलाई पनि लिनुपर्ने र मुस्लिमलाई पनि लिनुपर्ने .......... ‘यहीँ नेवा प्रदेशमा नेवारले मुख्यमन्त्री हुनका लागि गैरनेवारको पनि विश्वास नलिइकन हुँदैन । लिम्बुवानमा कोही लिम्बु मुख्यमन्त्री हुन चाह्यो भने उसले गैरलिम्बुलाई पनि विश्वासमा लिएर मात्रै हुन सक्छ, प्रचण्डले भने- ‘मैले यो विषयमा कांग्रेस र एमालेका साथीहरुसँग पनि छलफल गरिरहेको छु, तपाईहरुले माथि र तल-पहाड र मधेस) मा भेद गर्न भएन । माथि पनि कसैको बहुमत हुँदैन, तल पनि त्यही बनाउनुपर्‍यो ।’ ........ एमाओवादी अध्यक्ष प्रचण्डले मधेसमा एउटै जातिको बाहुल्य हुने प्रदेश बनाउँदा विखण्डनतिर जाने तर्क दोहोर्‍याए । कांग्रेस र एमालेले तराईमा मधेसी समुदायको मात्रै बहुमत पुग्ने गरी प्रदेश बनाउन खोजेको प्रचण्डको आरोप छ । ........ ‘तपाईले एउटा भाषाको मात्रै एउटा प्रदेश बनाइदिनुभयो र त्यसैको बहुमत भयो भने त्योचाँहि अहिले हामीले सोचेको संघीयताको मोडेलसँग मेल खाँदैन,’ प्रचण्डले भने-‘त्यसले कहीँ न कहीँ त्यो प्रदेशमा फरक फिलिङ ल्याउँछ । झापा, मोरङ र सुनसरी यदि मधेसमा जोडिएन या मधेसलाई झापा, मोरङ र सुनसरीसँग जोडिएन या थारुलाई जोडिएन र मिथिलालाई मात्रै प्रदेश बनाइदिऔं भने त्यसबाट आउने मनोविज्ञान भनेको कहीँ न कहीँ केन्द्रले विस्तारै हामीलाई अलि भिन्न गर्‍यो भन्नेतिर र एकखालको एक्सट्रिमतिर जाने खतरा पैदा हुन्छ ।’....... ‘सबैको बहुजातीय बहुभाषिक प्रदेशहरु हुँदा नाम मधेस भए पनि कसैको पनि बहुमत नहुँदा नै राष्ट्रिय एकता कायम हुन्छ । थारु भनेर थारुको मात्रै प्रदेश बनाउनुभयो भने त्यसले एकतातिर लाँदैन, विखण्डनतिर, विभाजनतिर जाने टेन्डेन्सी हुन्छ ।’ ......
पूर्वको झापा, मोरङ र सुनसरीलाई मधेसमा मिसाउँदा मधेसी समुदायको मात्रै बहुमत नपुग्ने र राष्ट्रिय एकता हुने तर्क गरेका प्रचण्डले कैलाली र कञ्चनपुरको हकमा पनि त्यस्तै हुने बताए ।
.....
‘कैलाली कञ्चनपुरलाई किन सेती महाकालीतिर लाने ?
कैलाली कञ्चनपुरमा पहाडियाहरु आएर बसेका छन्, तिनलाई नै थारुहरुसँग मिसाएर एकता गर्नेतिर कांग्रेस एमालेका साथीहरु किन सोच्नुहुन्न ?’ प्रचण्डले भने, ‘यता नवलपरासीदेखि जोड्दाखेरि मधेसी पनि हुन्छन्, थारुहरु पनि हुन्छन् । पहाडिया पनि हुन्छन् र सबै मिलेर सरकार बन्नेतिर जान्छ । तर, ऐतिहासिक हिसावले अवधको पनि र थारुको पनि पहिचानचाँहि आउनुपर्‍यो । अवध-थारुवान-लुम्बिनी भने हुन्छ, यसलाई अलग्याउनेतिर किन लैजाने भन्ने हाम्रो भनाइ हो ।’...... ‘तराईमा मधेसी समुदाय पहाडको जस्तो होइन । त्यहाँ अलि फरक चिज छ । त्यसो त मिथिला, भोजपुरी, अवधी भनेर भाषा फरक छ, तर मधेसी सेन्टिमेन्ट एउटै छ । चाहे त्यो बारा, पर्सा रौतहट होस् या जनकपुर सिरहा हुन् या कपिलवस्तु नवलपरासी होस्, मधेसी सेन्टिमेन्ट एउटै छ,’ प्रचण्डले भने- ‘मधेसीहरुको कल्चरमा, मनोविज्ञानमा र भूगोलमा समानता छ । त्यो एउटै समुदायका रुपमा मधेस छ ।’ ..... प्रचण्डले उत्तरी छिमेकी चीनले पहाडमा थोरै प्रदेशहरु चाहेको बताए । त्यस्तै दक्षिणको छिमेकी भारतले तराईमा कति प्रदेश हुन्छन् भन्ने विषयमा चासो राखेको उनले बताए । ...... छिमेकीहरुको मैले बुझ्दा प्रदेशहरुको संख्या धेरै भयो भने अलि अप्ठ्यारो हुन्छ कि भन्ने म देख्छु । ...... उत्तरतिरको छिमेकीले उत्तरतिर साना-साना प्रदेश भए भने उनीहरुको सुरक्षा चासोलाई असर पर्छ कि भन्ने चिन्ता व्यक्त गरेको म पाउँछु,’ प्रचण्डले भने-‘दक्षिणतिरका छिमेकीहरुको चाँहि तराईमा कस्तो भएर जान्छ भन्नेमा अलि बढी चासो र चिन्ता देखिन्छ । "

No comments: